Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित)

बैठकमा नेपाल कानून र मेलमिलापसहित ४ विधेयक पेश गरिंदै

130
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ।

संसद सचिवालयले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ । सचिवालयले कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाएको हाे।

बैठकमा कानूनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता’ पेश गर्ने कार्यसूची रहेकाे छ। साथै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुने भएकाे हाे।

त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि मंगलबार बिहान सवाँ १० बजे बस्ने भएकाे छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।