२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एउटै वडाबाट तीन प्रदेशसभा सदस्य


0
Shares

उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्य चयन गरेकोे हो । उनीहरु तीनैजनाको घर कपिलवस्तु नगरपालिका वडा नम्बर–१ मा रहेको छ ।

कपिलवस्तु नगरपालिका–१ हाटबजारका दुई र कालीमाई मन्दिरचोककी एक महिला एकसाथ प्रदेशसभा सदस्यमा सिफारिस भएका हुन् ।

यसरी प्रदेशसभा सदस्यमा सिफारिस हुनेहरुमा रिना नेपाल विक, शान्तिदेवी वर्मा सोनार र रुन्धावती दुवे शर्मा छन् ।

रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट कांग्रेसको समानुपातिक सिफारिसमा परेका छन् ।

सुरुमा रिना र रुन्धावतीमात्र सिफारिसमा परेका थिए । निर्वाचन आयोगले ‘कलस्टर’ र क्रमानुसार त्रुटि सच्याउन कांग्रेसलाई आग्रह गरेपछि अल्पसंख्यकको तर्फबाट शान्तिदेवीको नाम पछि सिफारिस गरिएको हो ।

शान्तिदेवी सिफारिसमा परेपछि यसअघि खसआर्यबाट सिफारिसमा परेकी रूपन्देहीकी सूर्यमति उपाध्यायको नाम भने काटिएको छ ।

प्रदेशसभा सदस्यको सिफारिसमा परेका यी तीनमध्ये एक कांग्रेस नेत्री हुन् भने दुई सामान्य कार्यकर्तामात्र हुन् ।

४० वर्षीया रिनाले जिल्लामा विभिन्न संघ–संस्थामा आवद्ध रहेर महिला र दलितका क्षेत्रमा काम गर्दै आएकी छन् । उनी कांग्रेस भ्रातृसंगठन नेपाल दलित संघ र महिला संघकी जिल्ला सचिव हुन् ।

समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरेकी रिनाले प्रदेश सांसद बन्नुपूर्व पनि पछाडि पारिएका समुदायका लागि काम गरेकाले अब अझै बढी सक्रियताका साथ लागिपर्ने बताइन् ।

यस्तै, प्रदेशसभा सदस्यमा सिफारिसमा परेकी शान्तिदेवीले अशिक्षित र पिछडिएको महिलाको हितका लागि काम गर्ने बताइन् ।