
शनिबार क्षेत्रीय रंगशाला धनगढीमा भएको पहिलो सेमिफाइनल खेलमा मनाङलाई ३–१ ले स्तब्ध पार्दै आर्मी उपाधिनजिक पुगेको हो ।
आर्मीको जितमा कप्तान भरत खवासले खेलको २३औं, नवयुग श्रेष्ठले ४५औं र सन्तोष तामाङले खेलको ८८औं मिनेटमा एक/एक गोल गरे । नवयुग खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
खेलको ९औं मिनेटमा हेमन गुरुङको गोलमार्फत् मनाङले सुरुआती अग्रता बनाएपनि अग्रतालाई धेरैबेरसम्म जोगाउन सकेन ।
मनाङले सुरुआती अग्रता लिएपनि खेलाडीहरुको कडा परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलपछि बताए ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आयोजकको कमी–कमजोरीका कारण आर्मीसँग पराजित हुनुपरेको प्रतिक्रिया दिए ।
आर्मीले अब उपाधिका लागि आइतबार हुने अर्को सेमिफाइनल खेलको विजेताको सामना गर्नुपर्नेछ ।
फाइनल प्रवेशका लागि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच खेल हुनेछ ।
फाइनल खेल आगामी सोमबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्