२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजा शुद्धोधनको दरबार अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्यो (भिडियो)


0
Shares

विश्वकै सबैभन्दा सानो देश भ्याटिकन सिटीदेखि जापान, कोरिया, जर्मनी, फ्रान्सलगायत मुलुकका पर्यटक तिलौराकोटको भ्रमणमा आउने गरेका छन् ।

सन् २०१७ मा मात्र ६० बढी देशका ४१ हजार ५ सय ५३ पर्यटकले तिलौराकोटको भ्रमण गरेका छन् । जसमध्ये ३७ हजार ८ सय ६५ जना तेस्रो मुलुकका छन् ।

छिमेकी मुलुक भारतबाट १ हजार ५ सय ११ पर्यटकले तिलौराकोटको भ्रमण गरेका छन् । त्यसैगरी २ हजार १ सय ७७ जना आन्तरिक पर्यटकले पनि तिलौराकोट दरबारको अवलोकन गरेका छन् ।

२०१६ को तुलनामा २०१७ मा भन्दा ५ हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष इकाई कार्यालय तिलौराकोटले जनाएको छ । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ ।

तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था विताएको तथा उनका पिता राजा शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ ।

विगत ३ बर्षदेखि तिलौराकोटमा जारी उत्खनन्ले यहाँ पर्यटकको संख्यामा बृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको तिलौराकोट दरबारको थप प्रमाण जुटाउन पुनः चौथोपटक उत्खनन् सुरु गरिएको छ ।

उत्खनन्बाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पर्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताए ।

उत्खनन कार्य करिब ५५ दिनसम्म चल्ने र यसका लागि जापानी नागरिक कासाईको सहयोग रहेको पनि कुँवरले जानकारी दिए ।

यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्वकालीन स्थलहरु सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनियाको अध्ययन र अन्वेषण पनि गरिने भएको छ ।

बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञ, पुरातत्व विभाग, लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका विद्यार्थीहरु उत्खनन् टोलीमा सहभागी छन् ।

ऐतिहासिक महत्व बोकेको तिलौराकोटको उत्खनन्ले यस क्षेत्रको प्राचिन अवस्थालाई उजागर गर्ने देखिन्छ ।

यसलाई थप व्यवस्थित बनाउन भने सरकारले नै विशेष पहल गर्नुपर्ने देखिन्छ ।

(भिडियो)