Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै पाइन्छ जानकारी


0
Shares

सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।’

यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन् । उनले भने, ‘सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन, यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ ।’

यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ । त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ ।

प्रयोगकर्ताले काठमाडौँ डट जिओभी डट एनपीमा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ ।

यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महाशाखाले विश्वास लिएको छ । (रासस)