काठमाडौं ।
नेपालमा प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्कीले राजधानीको बढ्दो जनसङ्ख्या, शहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताउनुभयो ।
स्थानीय तहले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उहाँको भनाइ छ । कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको प्रशंसा गर्नुभयो । राजधानीको शहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र शहरी व्यवस्थापनको स्तरसमेत झल्काउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वय गर्न पत्राचार भइरहेको छ । यसै सन्दर्भमा हामीले पनि सुरक्षा संरचनालाई प्राथमिकता दिँदै सुरक्षाकर्मीको आवास, यातायात तथा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ ।
स्थानीय तहहरूले नेपाल प्रहरीलाई आवश्यकताअनुसार जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण र मर्मतमा सहयोग गर्ने, सवारी साधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने, सीसीटीभी जडान तथा विस्तार गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेजस्ता कामले सुरक्षा सेवालाई थप प्रभावकारी बनाउँछ ।
यसबाट प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वय पनि अझ सुदृढ हुनेछ । बढ्दो जनसङ्ख्या, सहरीकरण, सवारी चाप, सार्वजनिक स्थान व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनजस्ता विषयमा महानगरपालिकाको कार्यसम्पादनले राजधानीको सहरी व्यवस्थापनको स्तर झल्काउँछ ।
अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने र सफा सडकमा हिँड्न पाउने अवस्था बनेको छ । स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो ।
सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ ।
एआई–इनेबल्ड सीसीटीभी, व्यवस्थित बस स्टप, बस पार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ व्यवस्थापनमा जोड दिन आवश्यक छ । त्यसैगरी, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच थप योजना र सहकार्यका साथ अघि बढ्ने वातावरण निर्माण हुने अपेक्षा राख्दछु । ’
आगामी दिनमा महानगर र नेपाल प्रहरीले थप योजनाका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिँदै कार्कीले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्