दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु, ८० घाइते • Image Khabar Image Khabar


दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु, ८० घाइते


Imagekhabar
१२ माघ २०७४, शुक्रबार १५:०२

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु, ८० घाइते

दक्षिण कोरियाको सुदूर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो ।

आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्ररी घाइते भएका जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ ।

दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौं खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् ।

यस्तो समयमा दक्षिण कोरियाको राजधानी सोलमा ठूलो संख्याका विदेशीहरु जम्मा हुन लागेको अवस्थामा दक्षिणी क्षेत्रको एक अस्पतालमा भने व्यापक आगलागी भएको छ ।

सामाजिक सञ्जालमा राखिएका श्रव्य–दृश्यहरुमा उक्त अस्पतालमा रहेका बिरामीहरुलाई अस्पतालको छत तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएको देखिन्छ ।

६ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा बिरामी र उनका कुरुवाहरु पनि परेका जनाइएको छ ।

उक्त अस्पतालमा दिउँसाको खानाखाने बेलामा अकस्मात् आगो लागेको हो । सो आगलागीकोबारेमा अहिलेसम्म पनि केही भन्न नसकिएको अस्पतालका चिकित्सक र नर्सले जनाएका छन् ।

‘खानाको समयमा अकस्मात् आगो दन्किएको देखिएपछि एकाएक मानिसहरुमा भागाभाग मच्चियो । अहिलेसम्ममा निकै ठूलो क्षति भएको छ’–उनीहरुले भनेका छन् ।

आगो भुइँतल्लाबाटै सुरु भएको देखिएको छ । जसका कारण धेरैजसो मृत्यु हुनेहरु अस्पतालको दोस्रो र तेस्रो तल्लाका रहेका छन् ।

मृत्यु हुनेमा अस्पतालभित्रकै मानिस परेका छन् । तीमध्ये के–कति बिरामी र कतिजना अस्पतालका कर्मचारी एवं बिरामीका कुरुवाहरु छन् भन्नेबारेमा केही बताइएको छैन ।

अहिले आगो नियन्त्रणमा लिनेमात्र प्रयास भएको छ र के–कतिजना मानिस के–कसरी परे भन्नेबारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त आगलागी भएको समयमा सो अस्पतालमा बिरामी र कर्मचारी गरेर कम्तीमा पनि २०० जना व्यक्ति रहेका थिए ।

दोस्रो तल्लामा रहेका एकजना बिरामीले भने–‘हामी दोस्रो तल्लामा थियौं, यत्तिकैमा यहाँका नर्सले अकस्मात् चिच्चाउँदै आगो लागेकोले भाग्न भनेपछि हामी पनि त्यहाँबाट भाग्यौं ।’

नर्सले अस्पतालको आकस्मिक कक्षबाट भाग्न भनेको भएपनि कतिपयले त्यसको मेसो नपाएर पनि धेरैको ज्यान गएको पनि उनले बताए ।

दक्षिण कोरियाकै एक जेचोन नामक सहरमा करिब महिना दिनअघिमात्र भएको आगलागीमा परी कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो ।

फिजिकल फिटनेस सेन्टरमा भएको सो आगलागीबाट २९ जनाको ज्यान गएको थियो । विद्युतीय गडबढीका कारण सो आगलागी भएको त्यस समयमा बताइएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्