२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भक्तपुरमा डकैतीमा संलग्न चारजना पक्राउ, यस्तो छ घटना


0
Shares

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् ।

लुटेरा समूहले काभ्रे, ज्याम्दी गाउँपालिका–९ घर भइ सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कुलनजिकै मनहरि बस्नेतको घरमा डेरा गरी बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर रु १६ लाख सात हजार ९०० बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री डकैती गरेका थिए ।

घटनामा संलग्न भइ फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो ।

यस्तो छ घटना
महाशाखाकाअनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर, जगातेमा घटनामा संलग्न रहेका ८ जना भेट गरी पीडितको घरनजिक खाजा खाइ डकैती गर्ने घरको निगरानी गरेका थिए ।

राति ९ बजे पीडितको घरनजिक गणेशचोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल निगरानी गरेका थिए ।

राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाइ परिवारका सबैलाई नियन्त्रणमा लिइ नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर–कम्पाउन्डमा पार्किङ गरेको बा८५प ७८५० नम्बरको मोटरसाइकलसमेत लिइ गएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध, जोरपाटी आएर नगद भाग लगाएका थिए ।

डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिइ नगद रु दुई लाख ९० हजार लिएकोसमेत खुलेको महाशाखाले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका–चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ । रासस