३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


‘लिबियामा डुंगा दुर्घटनामा कम्तीमा ९० जनाको मृत्यु भएको आशंका’


0
Shares

‘आज बिहान भूमध्यसागरको लिबियाली क्षेत्रमा भएको डुंगा दुर्घटनामा कम्तीमा ९० जना समुद्रमा डुबेका प्रत्यक्षदर्शीले बताएका छन्’–अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को एक विज्ञप्तिमा जनाइएको छ ।

दुई लिबियाली तथा ८ जना पाकिस्तानी नागरिक दुर्घटनास्थलबाट केही पर लिबियाली सामुद्रिक तटमा मृतावस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुर्घटनामा परेका दुई यात्रीले पौडेर ज्यान जोगाउन सफल भएको छन् भने अर्को एकजनालाई माझीले उद्धार गरेका आइओएमले जनाएको छ ।

आइओएमले उक्त बाटो यात्राका लागि सुरक्षित नभएको पटक–पटक चेतावनी दिँदै आएपनि मध्य भूमध्यसागरीय बाटो नाम दिइएको यस क्षेत्र हुँदै युरोप जाने आप्रवासीको संख्यामा कमी आउन सकेको छैन ।

यो लिबियालाई इटालीसँग जोड्ने आप्रवासीले प्रयोग गर्ने अतिखतरनाक बाटोकारूपमा लिने गरिन्छ ।

सन् २०१८ को सुरुदेखि शुक्रबारको दुर्घटनापहिले नै यस क्षेत्रमा २१८ जना आप्रवासी शरणार्थीको मृत्यु भएको आइओएमले जनाएको छ ।

त्यसैगरी, टर्की र ग्रीस जोड्ने पूर्वी बाटो भएर युरोप पुग्ने शरणार्थीको संख्या एक हजार ८९ जना रहेको र सन् २०१८ मा कसैको मृत्यु भएको खबर नभएको आइओएमले जनाएको छ ।

पश्चिमी बाटो उत्तर अफ्रिका हुँदै स्पेन जानेक्रममा २८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने उक्त अन्तर्राष्ट्रिय निकायले जनाएको छ । रासस/एएफपी