Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने राष्ट्रपति ट्रम्पको दावी

सम्झौतापछि हर्मुज जलमार्ग सबैका लागि खुला हुने जिकिर

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दावी गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले जनाएकाे छ । मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबकाे २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको बताएको हाे।

तर इरानले भने सम्झौता हस्ताक्षरको समयकाे बारेमा अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय भने अझै स्पष्ट भइनसकेको इरानको प्रतिक्रिया रहेकाे छ । राष्ट्रपति ट्रम्पले सम्झौतापछि इरानको उच्च संवर्द्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्ततः नष्ट गरिने पनि बताउनुभयाे। उहाँले वार्ता सफल नभए अमेरिकासँग “अन्तिम विकल्प” समेत रहेको चेतावनी समेत दिनुभएको छ ।

गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले सयुक्त रूपमा इरानमाथि हवाई आक्रमण गरेपछि शुरु भएको द्वन्द्वले पश्चिम एशियामा तनाव चुलिएको थियो । यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा पश्चिम एशियाको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।