आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो • Image Khabar Image Khabar


आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो


Imagekhabar
२१ माघ २०७४, आईतवार ०७:२८

आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो

लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्न्लेले १-१ गोलको बराबरीमा रोकेको हो ।

बर्न्लेको मैदानमा भएको खेलको २२ औं मिनेटमा म्यान सिटीका ड्यानिलोले गोल गरे । तर खेल सकिन ८ मिनेट बाँकी छँदा बर्न्लेका गुड्मन्सनले गोल गर्दै खेल बराबरी गरेका हुन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गर्‍यो ।

खेलमा म्यानयूलाई विजयी गराउन रोमेलु लुकाकु र अलेक्सिस सान्चेजले एक एक गोल गरे ।

गएराती भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई ५-१ ले पराजित गर्‍यो ।

एकतर्फी खेलमा आर्सनललाई विजयी गराउन आयरन राम्सेले ह्याट्रिक गरेभने लरेन कोसेल्नी र पिएरे एमरीक औबामायङ्गले एक एक गोल गरे ।

अघिल्लो हप्ता मात्रै जर्मन क्लव बोरुसीया डर्टमण्डबाट आर्सनल आएका अफ्रिकी मुलुक गाबोनका खेलाडी औबामायङ्गले आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई ३-२ ले, ब्राईटनले वेष्ट ह्यामलाई ३-१ ले तथा बर्नमाउथले स्टोक सिटीलाई २-१ ले हराएका छन् ।

लेष्टर सिटी र स्वान्सी सिटीले भने १-१ गोलको बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेका लिभरपूल र चेल्सी ५०/५० अंकको साथ क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्