१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्रदेश नम्बर २ मा प्रदेशसभा बैठक जारी, मधेसका शहीदको तस्बिर नराखेकोमा विरोध


0
Shares

जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा बसिरहेको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ । यसअघि बैठक शुरु हुनासाथ केही बेर अबरुद्ध भएको थियो ।

राष्ट्रिय जनता पार्टीका सांसदहरुले संसद् भवनभित्र मधेस आन्दोलनका शहीदका तस्बिर नराखेको भन्दै बैठक अबरुद्ध गरेका हुन् ।

सभामुखको अनसन अगाडि जनआन्दोलनका शहीदहरुको तस्बिर राखिएको छ । बैठक शुरु हुनासाथ राजपाका सांसद मनिष सुमनले मधेस आन्दोलनका शहीदको तस्बिर राख्न माग गर्दै विरोध गरेका थिए ।

त्यसपछि राजपाकै सांसद डिम्पल झाले मधेसका शहीदको तस्बिर नराखेसम्म बैठक अघि नबढ्ने बताएपछि सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।

राजपाका सांसदहरुले विरोध गरिरहेका बेला नेकपा एमालेका सांसदरुले भने बैठक अबरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाएका थिए ।

दुई दलका सांसदबीच हंगामा हुने संकेत देखिएपछि ज्येष्ठ सदस्यका हैसियतले सभा सञ्चालन गरिरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्बिर राख्न रुलिङ गरेपछि राजपाका सांसदहरु बैठक अघि बढाउन दिन तयार भएका थिए । अहिले बैठक कार्यसूचीअनुसार चलिरहेको छ ।