२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल ओमानसँग ६ विकेटले पराजित


0
Shares

नामिबियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो ।

जवाफमा ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई एक विकेटले पराजित गरेको थियो ।

दुई खेल नै खेलेको ओमानको यो पहिलो जित हो । बिहीबार भएको खेलमा ओमान क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।

ओमानको जितमा अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै, वैभव वाटेगाओनकरले अविजित ३७, जतिन्दर सिंहले २४ र कप्तान सुल्तान अहेमद १६ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र वसन्त रेग्मीले एक/एक विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटिएको थियो ।

नेपालका लागि शरद भेषवाकरले सर्वाधिक २२ रन बनाए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए भने सोमपाल कामी १७ रनमा अविजित रहे ।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट तथा बिलाल खानले २ विकेट लिएका थिए ।

नेपालले अब आइतबार युएईसँग तथा ओमानले नामिबियासँग खेल्नेछन् । रासस