२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिरियामाथि आक्रमण गर्न सक्ने फ्रान्सको चेतावनी


0
Shares

पेरिस, फागुन २ । फ्रान्सले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परे सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको भन्ने कुरा आइरहेको र त्यो प्रमाणित भए आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै जहाँबाट त्यस्ता हमला गरिन्छ, त्यहाँ आक्रमण गर्न आफूहरु तयार रहेको बताए ।

सिरियाले प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारिसकेको उनले बताए ।

राष्ट्रपति माक्रोनले रासायनिक अस्त्रको प्रयोग आफ्नो सरकारका लागि ‘लक्ष्मणरेखा’ नाघेको ठहरिने धारणालाई दोहोर्‍याए । सिरियाली सरकारले नागरिकमाथि क्लोरिन ग्यास आक्रमण गरेका केही प्रतिवेदन सार्वजनिक भएपछि फ्रान्सेली राष्ट्रपतिको कडा चेतावनी आएको हो ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा गत महिना रासायन भएको एउटा बम खसालिएपछि केही मानिस बिरामी भएका थिए । तर सिरिया सरकारले रासायनिक अस्त्र प्रयोग गरेको कुरालाई अस्वीकार गर्दै आएको छ । (एजेन्सी)