३० असार २०८२, सोमबार | Tue Jul 15 2025


४ जनामा पाठेघरको क्यान्सरको शंका, ७ जनाको शल्यक्रिया गर्नुपर्ने


0
Shares

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क भीआईए परीक्षण अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट ४ जनामा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको डाक्टर दिपक ढकालले बताए ।

बुधबार र बिहीबार दुर्इ दिनसम्म चलेको शिविरमा ७ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकाले दाङ घोराहीमा निःशुल्क अल्यक्रियाका लागि रिफर गरिएको छ ।

यस्तै पाठेघर (आङ) खसेका १० जना महिलालार्इ उपचार गरिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले जनाएका छन् । अन्य २०४ जना महिलाले पनि पाठेघर तथा तल्लो पेट दुख्ने लगायतका समस्या लिएर आएकोमा उपचार र परामर्श पाएका छन् ।

यसैबीच पाठेघरको क्यान्सरबाट बच्न आफुमा भएको समस्या लुकाउन नहुने चिकित्सकहरुले बताएका छन् । समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुने भएकाले बेलैमा चेकजाँचका लागि स्वास्थ्य संस्थामा पुग्नुपर्ने डा. ढकालले बताए ।

कलिलै उमेरमा विवाह नगर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अंगको सरसफाईमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्तांगसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ ।