
मनोज पुन तिनै व्यक्ति हुन् जसको आतंकमा देवदहमात्र नभई देशका निर्माण व्यवसायी, ठूला व्यापारी थरथर हुन्थे । उनी विगत दुई वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।
प्रहरीका अनुसार उनले गत पुस २२ गते देवदह मै व्यवसायी वसन्त पौडेलको हत्या गराएका थिए । त्यसअघि देवदहमै युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो, जसमा प्रहरीले मनोज पुन कै संलग्नता रहेको दावी गर्दै आएको छ ।
लामो समय लुकिछिपी रहँदै आएका मनोज पुन भारत मै बस्ने गरेको सन्देहका साथ प्रहरीले भारतका विभिन्न सहरमा खोजतलास नगरेको होइन । तर उनलाई फेला पार्न सकेको थिएन । काठमाडौंमै दिनदहाडै निर्माण व्यवसायी महासंका अध्यक्ष शरद गौचनको हत्या भएपछि भने प्रहरीले उनको खोजीलाई तीव्रता दियो । किनकि, गौचनको हत्यामा संलग्न विभिन्न व्यक्तिलाई पक्राउ गरेको प्रहरीले उनीहरुसँगको बयानको आधारमा हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा पुग्दा पनि उनलाई फेला पार्न सकेको थिएन ।
बरु अन्य व्यवसायी पनि फोनबाट आफूलाई धम्की आइरहेको भन्दै कहिले प्रहरी, कहिले प्रधानमन्त्री निवास त कहिले गृहमन्त्रालय धाइरहेका थिए । उनीहरुले आफूहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने तथा गौचनको हत्यारा पक्राउ गरी कारवाही गर्नुपर्ने माग उठाउँदै आएका थिए ।
स्रोतका अनुसार मंगलबार प्रहरीले मनोज पुन देवदह आएको खबर पाएको थियो । सोही आधारमा प्रहरीले सो क्षेत्रमा व्यापक खोजतलास अभियान चलाएको थियो । शंकास्पद स्थानमा सर्च अभियान संचालन गर्दै आएको प्रहरी टोलीले बिहान ३ः३० बजे मनोज पुन र उनका सहयोगी सोम आलेलाई फेला पारेको स्रोतको दावी छ ।
तर, उनीहरुले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको बताइएको छ । आखिर देवदह–४, भवानीपुरमा प्रहरीको गोली लागेर मनोज पुन र उनका सहयोगी ढले । दुवैलाई प्रहरीले लुम्बिनी अञ्चल अस्पताल लगेको थियो, जहाँ उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्