
झापा, फागुन १९ । प्रदेश १ कै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजबाट सुरु हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रमपम झापा–११ ले सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा झापा र सुदूरपश्चिमसहित थ्रीस्टार, मनाङ मस्र्याङ्दी, विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ तथा सहारा क्लब पोखरा, रूपन्देही–११ र सिक्किम युनाइटेड एफसीले भाग लिएका छन् ।
विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । गत वर्ष विजेताले ७ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस वर्ष पुरस्कारको राशी वृद्धि गरिएको हो ।
फुटबल विकाससँगै जिल्लाको पहिचानका लागि प्रतियोगिता गरिएको आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।
यसपटक दुई उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने बताइएको छ । गत वर्ष एक खेलाडीले मात्रै मोटरसाइकल पाएका थिए ।
यो वर्षदेखि पुराना फुटबलरलाई सम्मान गर्ने संस्कार पनि सुरु गरिने जनाइएको छ ।
पुराना फुटबल खेलाडीहरु रामदर्शन गुरुङ र सन्तबहादुर रायमाझीलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री सेरधन राईले गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्