१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री


0
Shares

काठमाडौं, असार १३ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमाथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि उठाएका प्रश्नका जवाफ दिँदै उनले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत् जानकारी आउने सदनलाई अवगत गराएका हुन् ।

सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् । तर, अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पस्ट नसकिने जवाफ दिए ।

‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानुनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ’–मन्त्री थापाले भने–‘तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्ति–सुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।’

‘कानुनबमोजिम भएका सम्झौता कार्यान्वयन गराइ तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानुनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारीरुपमा अगाडि बढाएको छ’ भन्दै उनले सम्भावित विपद्बाट हुनसक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताए ।

नागरिकता प्राप्तिको हक सुनिश्चितताका लागि कानुन तर्जुमा गरी कानुन मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै उनले सीमा सुरक्षा विशेष अभियान सन्चालन गरी अपराध नियन्त्रण गरिने बताए ।

मन्त्री थापासँग, दिलेन्द्रप्रसाद बडू, विमलप्रसाद श्रीवास्तव र रामबहादुर विष्टले थप स्पष्टीकरण मागेका थिए । रासस