२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजश्व असुलीमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन


0
Shares

चालू आवको करिब चार महिनामात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिएका हुन् ।

भन्सार विभागकाअनुसार देशभर २३ ओटा प्रमुख भन्सार कार्यालय र १४३ ओटा कार्यालय छन् ।

सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अन्य कर असुल गरिँदै आएको छ ।

भन्सारले कुल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ ।

चालू आवको बजेटमा रु सात खर्ब ३० अर्ब राजश्व संकलनको लक्ष्य राखिएकामा यस साताको बिहीबारसम्म रु चार खर्ब सात अर्ब अर्थात् ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा. खतिवडाले भने–‘राजस्व जोखिम हुनेगरी कुनै काम–कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ।’

औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उनले चोरी–पैठारी नियन्त्रण कडाइका साथ गर्ने/गराउने गरी कार्यालयका सबै कर्मचारी जिम्मेवार हुनुपर्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले अखाद्य तथा वातावरणीयरुपमा नकारात्मक प्रभावपार्ने माल, वस्तु आयात हुन नपाउने गरी विशेष सतर्कता अपनाउनसमेत निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । रासस