देवघाट र लोथरमा गोही गणना • Image Khabar Image Khabar


देवघाट र लोथरमा गोही गणना


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १५:३१

देवघाट र लोथरमा गोही गणना

करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

उनकाअनुसार २०५५/५६ सालतिर सो क्षेत्रबाट पनि गोहीको अन्डा संकलन हुन्थ्यो । त्यसपछि विस्तारै गोही हराउँदै गयो ।

अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यसपटक गोहीको गणना गरिएको अर्याल बताउँछन् ।

विगतमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासको क्षेत्रमा गोही गणना गर्ने गरिएपनि यसपालि भने क्षेत्र विस्तार गरेर देवघाट र लोथरमासमेत गणना गरिएको हो ।

यसअघि, फागुन ११, १२ र १३ गते राप्ती र नारायणी नदीको विभिन्न ११ ओटा ब्लकमा गोहीको गणना गरिएको थियो । तर, अन्य सम्भावित क्षेत्रमा गोहीको अवस्था के छ भनेर पत्ता लगाउन क्षेत्र थप गरी देवघाट र पूर्वी चितवनको लोथरमा यही फागुन १८, १९ र २० गते गोही गणना गरिएको हो ।

गणनाका लागि नारायणी नदीमा देवघाटदेखि मझुवा सामुदायिक वनको सिख्रौलीघाट र पूर्वराप्ती नदीमा लोथरदेखि जिन्दगानी घाटसम्मको क्षेत्र थपिएको हो ।

देवघाट र नारायणगढ क्षेत्र गोहीका लागि राम्रो वासस्थान भएपनि मानवीय चापले गोही बस्नसक्ने अवस्था नदेखिएको अनुगमनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए ।

नारायणगढबाट केही किलोमिटर तल शिवघाटमा भने एउटा गोही भेटिएको उनको भनाइ छ ।

यता, पूर्वीराप्ती नदी क्षेत्रमा भने चार/पाँचओटा गोही फेलापरेको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषले जुअलोजिकल सोसाइटी अफ लन्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो ।

आइतबारसम्म गणनाको फिल्डको काम भएकाले सोमबार (आज)देखि डाटा संकलन र व्यवस्थापनको काम सुरु भएको छ ।

गोही छुट्नसक्ने भएकाले हरेक ब्लकमा तीन दिनसम्म दोहोर्‍याएर गणकहरु नदीमा खटिएका थिए । चितवनको राप्ती र नारायणी नदीमा कुल १६६ ओटा गोही छन् ।

सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कुल १९८ गोही छन् । प्राकृतिक वासस्थानमा घडियाल गोही लोप हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्