Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने


78
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गर्नुभएको छ । उहाँले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराख्ने हुनुभएको छ ।

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार पछिल्लो समय प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकाले यस वर्ष दसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको हो ।

भदौमा आएको भीषण बाढी र असोजमा भएको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको र ठूलो जनधनको क्षति भएको सूचनामा उल्लेख छ ।

यस्तो परिस्थितिलाई ध्यानमा राख्दै धार्मिक आस्था, मान्यता र मर्यादालाई कायम राखेर यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाइने जनाइएको छ । सोही निर्णयअनुसार विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराखिएको सचिवालयले जनाएको छ ।