Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह


91
Shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको छ ।

नदीमा पानीको बहाव बढिरहेको अवस्थालाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र आकस्मिक उपचारको व्यवस्था मिलाउन केन्द्र सक्रिय पारिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरिएको छ ।

मन्त्रालयले बूढीगण्डकी नदी आसपाससहित जोखिममा रहेका अन्य नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । साथै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।