२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


चारजना मरिच ‘तस्कर’ थुनामा


0
Shares

वीरगन्ज, असार १३ । राजश्व अनुसन्धान विभाग काठमाडौंले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौं लगिएको छ ।

गत जेठ २१ गते प्रहरीले वीरगन्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजानेक्रममा वीरगन्ज महानगरपालिका–५, कुम्हालटोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रकचालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दिलीप श्रीवास्तवलाई पक्राउ गरी थुनामा राखेको हो ।

उत्तम अग्रवाललाई पर्सा प्रहरीमार्फत् सोधपुछका लागि काठमाडौं पठाइएको छ ।

मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटी रकम रु तीन करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको राजश्व अनुसन्धान विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले जानकारी दिए । उनलाई हाल नख्खु जेलमा राखिएको छ ।

राजश्व विभागले थालेको प्रारम्भिक अनुसन्धानकाक्रममा अग्रवाल दोषी पाइएको थियो ।

एक वर्षदेखि वीरगन्जसहित आसपासका नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महँगोमा बेच्न वीरगन्जका व्यापारी सक्रिय थिए ।

गत जेठ २१ गते राति वीरगन्ज भन्सार नाकाबाट भारतीय ट्रकमा भारत पठाउन लागिएको १२ टन २०० किलो मरिच प्रहरीले बरामद गरेको थियो ।

निर्देशक पोखरेलसहितको टोलीले वीरगन्जको दुईओटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र जफत गरेको थियो ।

तेस्रो मुलुकबाट मरिच ल्याइ व्यापार गर्ने ठूलो समूह वीरगन्जमा सक्रिय रहेको प्रहरीले जनाएको छ । रासस