
जिल्लाको नयाँ पर्यटकीय गन्तव्यकोरुपमा विकास भइरहेको ढापपोखरीमा आगामी चैत १० र ११ गते महोत्सवको आयोजना गर्न लागिएको आयोजक चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।
महोत्सवका लागि आन्तरिक तयारी सुरु भएको छ । उद्घाटन समारोह व्यवस्थापन, विभिन्न स्टलहरु निर्माण, प्रदर्शनीस्थल, अतिथि स्वागतद्वार निर्माण, होटल तथा लज व्यवस्थापन, खानेपानी व्यवस्थापन, खेलकुद, साँस्कृतिक तथा झाँकी व्यवस्थापन, यातायात व्यवस्थापन तथा प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ ।
‘रामनवमीमा ढापपोखरी जाउँ, आन्तरिक पर्यटन प्रर्वधनमा सहयोग पु¥याऔं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा विविध जातीय संस्कृतिसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।
महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडिबिुटीहरु, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरु राखिनेछन् ।
महोत्सवमा ढापपोखरीमा डुंगा सयर, हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपान्डाकोसमेत अवलोकन गर्न पाइने जनाइएको छ ।
स्थानीयको सक्रियतामा निर्मित ढापपोखरी
ढापपोखरी सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा पर्दछ । स्थानीयको सक्रियताका अढाइ वर्षअघि निर्माण गरिएको सो पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
क्षेत्रफलको हिसाबले यो इलामकै सबैभन्दा ठूलो पोखरी मानिएको छ ।
वि.सं. २०७२ वैशाख १ मा करिब एक हजार स्थानीय भेला भएर पोखरीको निर्माण र विस्तार थालिएको थियो ।
दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर पानी जमाउन थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्