Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


उदयपुरमा देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन सुरु


0
Shares

माधव पोखरेल, उदयपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि सुरु गरेको छ । महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ ।

उदयपुरमा अधिवेशनको तयारी कांग्रेस नेता तथा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको नेतृत्वमा गरिएको छ । जिल्लामा नेतृत्व चयनका लागि क्षेत्र नम्बर १ मा तिलक कटुवाल र क्षेत्र नम्बर २ मा रामकुमार खत्रीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, त्रियुगा नगरपालिकाको नगर अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी राजकुमार दनुवारले पाएका छन् । आज हुने वडा अधिवेशनबाट वडा नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन हुने उदयपुर जिल्ला संयोजक वसन्तकुमार बस्नेतले जानकारी दिनुभयो ।

कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, गाउँरनगरपालिका अधिवेशन असोज २० गते, प्रदेशसभा क्षेत्र तथा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १७ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने तयारी गरिएको छ ।

त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी रहेको कांग्रेस जिल्ला प्रवक्ता रोशन कार्कीले बताउनुभयो ।

यसैबीच, गगन थापा नेतृत्वको कांग्रेस पक्षले भने क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको जनाएको छ ।