काठमाडौं । हिउँद नजिकिँदै गर्दा अफगानिस्तानको बल्ख प्रान्तमा फिर्ता भएका हजारौं अफगान परिवारमाथि मानवीय संकट गहिरिएको छ ।
मजार–ए–शरिफको बाहिरी क्षेत्रमा बनेको अस्थायी शिविरमा बस्दै आएका करिव ८०० परिवारसँग न्यानो लुगा, इन्धन र खाद्यान्नको अभाव छ भने उनीहरू आधारभूत स्वास्थ्य र खानेपानी सेवाबाट समेत वञ्चित रहेका छन् । करिव ३० वर्षसम्म छिमेकी मुलुक पाकिस्तानमा शरणार्थी जीवन बिताएर गत वर्ष स्वदेश फर्किएका घौस मोहम्मदको दैनिकी अहिले निकै कष्टकर बनेको छ ।
उनी भन्छन्, ‘हिउँद ढोकामा आइसक्यो, तर हामीसँग न त आगो बाल्ने कोइला छ, न ओढ्ने ओछ्याउने कम्बल नै । न रोजगारी छ, न त बालबालिकाका लागि विद्यालय वा बिरामीका लागि क्लिनिक ।’
शिविरमा बस्ने अधिकांशले पालमुनि एक वर्ष बिताएपछि बल्ल केहीले माटोका घर बनाएका छन्, तर ती संरचना जाडो छल्न पर्याप्त छैनन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार विगत तीन वर्षमा छिमेकी मुलुकहरूबाट करिव ६० लाख अफगान नागरिक स्वदेश फर्किएका छन् ।
यति ठूलो संख्यामा मानिसहरू भित्रिँदा आवास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको माग अकासिएको छ, तर सरकारी स्रोत र साधनले उक्त माग धान्न सकेको छैन ।
बल्ख प्रान्तको शरणार्थी तथा पुनःस्थापना निर्देशनालयका प्रमुख मौलवी असदुल्लाह वाफाले सरकारले फिर्ता भएकाहरूलाई जग्गा वितरण गरिरहेको र नयाँ बस्ती बसाउने योजना रहेको बताएका छन् । तर जग्गा पाएका धेरै परिवारसँग घर बनाउन आवश्यक पर्ने आर्थिक स्रोत छैन । ‘हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूलाई घर निर्माणमा सहयोग गर्न अपिल गर्दछौं,’ वाफाले थपे ।
शिविरका बासिन्दाहरू भने तत्कालका लागि खाना, सफा पानी र स्वास्थ्य उपचारको अभावमा मृत्युको मुखमा पुग्ने खतरा बढेको भन्दै सहयोगका लागि याचना गरिरहेका छन् ।
केही युवाहरू परिवार पाल्न रोजगारीको खोजीमा अन्यत्र पलायन भएका छन् भने शिविरमा रहेका वृद्धवृद्धा र बालबालिका भने जाडोको कहरसँग जुध्न बाध्य छन् ।









प्रतिक्रिया दिनुहोस्