Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


उखु किसानको बक्यौता भुक्तानी दशैँअघि नै गर्ने सरकारको तयारी


0
Shares

काठमाडौं । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशिघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो । बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भुक्तानीमा भएको ढिलाइप्रति किसानको गुनासो जायज भएको स्वीकार गर्दै प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ हुन पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले भुक्तानी प्रक्रियालाई सकेसम्म दशैँअघि नै सम्पन्न गर्ने प्रयास भइरहेको बताए पनि सबै कुरा आफूमा मात्र निर्भर नरहेकाले केही जटिलता रहेको संकेत गर्नुभयो । उखु किसानले लामो समयदेखि बक्यौता रकमका लागि पटक–पटक ताकेता गर्दै आएका छन् ।

यसअघि मन्त्रालयले भुक्तानीका लागि निर्णय गरिसकेको भएपनि कार्यान्वयन पक्षमा देखिएको सुस्तताका कारण किसान मारमा परेका थिए । सचिव मिश्रले भने किसानलाई ढुक्क रहन आग्रह गर्दै मन्त्रालयले निरन्तर फलोअप गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । किसानलाई भुक्तानी हुने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ । भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ । दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ । असारमै भुक्तानी गर्ने भनिए पनि केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको हो । अब भने किसानले पाउनुपर्ने रकम चाडपर्वअघि नै उपलब्ध गराउने गरी मन्त्रालयले काम अघि बढाएको छ ।’

सरकारी अधिकारीहरूले भुक्तानी प्रक्रियामा ढिलाइ नहुने आश्वासन पटक–पटक दिँदै आए पनि फिल्ड तहमा किसानले सास्ती खेप्नुपर्ने अवस्था कायमै छ । अब मन्त्रालयले भनेजस्तै एक–दुई दिनभित्र भुक्तानी हुन्छ कि हुँदैन भन्नेकुराले किसानको आगामी दशैँको रौनक निर्भर गर्नेछ ।