२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पूर्वराजाले राप्रपाका तीनवटै समूहका नेतासँग गरे छलफल


0
Shares

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् ।

राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्यद्वय भास्कर भद्रा र प्रह्लाद शाह, राप्रपा प्रजातान्त्रिकबाट महामन्त्री राजाराम श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय सुरेश आचार्य र सगुन लावती, राप्रपा राष्ट्रवादीका नेताहरू केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुषमा आचार्य छलफलमा सहभागी थिए ।

आइतबार साँझ झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा पूर्वराजा शाहले तीनवटा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि आफ्नै स्वामित्वको उक्त चिया बगानमा रहेका शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए ।

चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो ।

‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’

तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उहाँको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भन्नुभयो । उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’ -नयाँ पत्रिका दैनिकबाट