भारतीय एसटीएफद्वारा अपहरित नेपाली मुक्त, यस्तो छ अपहरणको ‘सेटिङ’ • Image Khabar Image Khabar


भारतीय एसटीएफद्वारा अपहरित नेपाली मुक्त, यस्तो छ अपहरणको ‘सेटिङ’


Imagekhabar
१२ चैत्र २०७४, सोमबार ०७:४४

भारतीय एसटीएफद्वारा अपहरित नेपाली मुक्त, यस्तो छ अपहरणको ‘सेटिङ’

बिराज रोस्यारा/ईमेज:
कैलाली, चैत १२ । भारतको तिकुनियाबाट भारतीय अद्र्ध सैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि मुक्त भएका छन् ।

नियन्त्रणमा लिएपछि १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरेपनि उनलाई बन्धकमा राखी रकम असुलिरहेको कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट नेपाली नागरिकलाई मुक्त गरेको हो ।

पोखराबाट कामको सिलसिलामा चैत ५ गते कैलालीको टीकापुर पुगेका लेखनाथ महानगरपालिका– ४ चिप्लेढुंगाका ६३ वर्षिय कुतवद्धिन मियालाई टीकापुर आएकै दिन तिकुनियाबाट एसटीएफको टोलीले नियन्त्रणमा लिई परिवारजनाबाट फिरौती माग गरेको थियो ।

उनलाई भारतीय मुलका दुई जनाले तिकुनिया घुम्न लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट एसटिएफको टोलीले गाडीमा राखेर लगेको बताइएको छ ।

स्रोतका अनुसार उनलाई घुम्नका लागि टीकापुरबाट लैजाने भारतीय मुलका व्यक्तिहरुकै मिलेमतोमा एसटिएफले नियन्त्रणमा लिएको थियो ।

नाटकीय ढंगले अपहरणमा परेका उनी नाटकीय ढंगले मुक्त भएका छन् । उनको अपहरण र मुक्तिपनि रहस्यमय छ । उनलाई शनिवार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट भारतीय प्रहरीले मुक्त गरेको हो ।

उनको रिहाईका लागि पोखराबाट आएका छोरा, छोरीहरु र ज्वाई फिरौती वाफतको रकम ल्याएर आएका थिए ।

त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाई रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैया सहित एसएसवीद्धारा नाकामा पक्राउ परेपछि मिया अपहरणको घट्ना बाहिर आएको थियो ।

तिकुनियाबाट अपहरण गर्ने एसटिएफएको टीमले उनलाई फिरौती वाफतको रकम लिएर गौरीफन्टामा आउन भनेका थिए ।

एसटिएफएमको त्यही उर्दीपछि मियाका परिवारका सदस्य फिरौती वापत माग गरिएको रकमको जोहो गरेर पोखराबाट धनगढी आएका थिए ।

अपहरण मुक्त भएपछि मिया सपरिवार आईतवार बिहान आफ्नो गृहनगर पोखरा फर्केका छन् ।

बुवा अपहरणमुक्त भएपछि छोरा छोरी र ज्वाई अत्यन्त खुशी भएपनि फेरि के हुने हो भन्ने डरले चुपचाप घर फर्केका छन् । उनीहरुले अपहरण गर्ने कसैका बिरुद्ध उजुरी दिएका छैनन ।

कसरी एसटीएफएको अपहरणमा परे मिया ?

पोखरा घर भएका मिया ३ गते नारायणगढका लागि घरबाट हिडे । नारायणगढमा उनी छोरीको घरमा बसे ।

४ गते त्यहाँबाट भान्जाको बिहेका लागि भैरहवा हिडेका मिया भैरहवा नगएर बुटवलबाट कैलालीको लम्कीको रात्री बसमा चढे ।

५ गते बिहान उनी लम्की पुगे । त्यहाँबाट अर्को बसमा बिहान ९ बजे टीकापुर । टीकापुरमा उनी ऐन बहादुर मल्ललाई भेट्न आएका थिए ।

जोसंग उनले जग्गाको पैसा लिन बाँकी थियो । त्यो पनि निकै पुरानो । उनी यसअघि २०५१ सालमा टीकापुर आएका थिए ।

तर उनी मल्लको सम्पर्कमा नआउँदै दुई जना भारतीय मुलका व्यक्तिको सम्पर्कमा आए । उनीहरुकै सल्लाहमा मिया घुम्नका लागि तिकुनिया पुगे । त्यहाँ चिया पिउँदै गर्दा भारतीय प्रहरी आए ।

उनलाई चिया पसलबाट तिकुनियाको प्रहरी चौकीमा लगियो । उनको हातमा कालो व्याग थमाईयो । र त्यो व्यागमा भएको सामान किनिरहेको बहानामा उनलाई नियन्त्रणमा लिइयो ।

तर त्यो व्यागमा के थियो ? मियालाई थाहा थिएन । उनलाई त्यहाँबाट भारतीय प्रहरीले गाडीमा राखेर लखिमपुर लगे । र १२ लाख रुपैया फिरौती वाफत माग गरे ।

फिरौती नदिए आठ बर्ष जेलमा राख्ने भन्दै धम्क्याए । उनलाई लखिमपुर प्रहरीकै गाडीमा लगिएको थियो ।

तर राति कुनै व्यक्तिको घरमा राखियो । उनलाई खानलाई रोटी दिए । र त्यो राति त्यही सुते ।

दोस्रो दिन उनलाई आफूलाइ भारतीय एसटिएफ बताउने व्यक्तिहरुले गाडीमा राखेर भीराको जंगलमा पुर्‍याए । त्यहाँ उनलाई भारतीय प्रहरीकै कार्यालयमा राखिएको थियो ।

उनलाई सुरुमा फिरौती वाफत १२ लाख माग गरिएपनि पछि आठ लाखमा कुरा मिल्यो ।

एसटिएफएको टोलीले मिया आफ्नो नियन्त्रणमा रहेको र उनको रिहाईका लागि आठ लाख भारतीय रुपैया लिएर आउन मियाको घरमा फोन गरे ।

मियाकी दुई छोरी, ज्वाई र छोरा रकम लिएर ६ गते राति धनगढी पुगे । राति नयाँराम होटलमा बास बसे ।

एसटिएफको टोलीद्धारा उनका ज्वाईलाई पैसा ल्याएर ८ गते गौरीफन्टा आउन भनियो । उनका ज्वाईले ससुरा भएपछिमात्र पैसा ल्याउने बताए । र अपहरणकारीले मियालाई हेर्न बोलाए ।

गौरीफन्टामा पेट्रोलका ट्यांकर नजिकै गाडीभित्र राखिएका मियालाई उनका ज्वाईले टाढाबाट हेर्न पाए । तर भेट्न पाएनन । गाडी भित्र उनी सहित ६ जना थिए । त्यसपछि उनी पैसा लिएर गौरीफन्टा जादै गर्दा एसएसवीद्धारा समातिए ।

८ लाख भारतीय रुपैया सहित समातिएपछि उनले सबैकुरा एसएसवीलाई बेलिबिस्तार सुनाए ।

त्यसपछि एसएसवीले त्रिनगर प्रहरी चौकीमा खवर गरे । एसएसवीको त्यही जानकारीका आधारमा नेपाल प्रहरीले खोजी शुरु ग¥यो ।

तर उनलाई मुक्त गर्न सकेन । ९ गते अपहरणकारीहरुले उनकी छोरी हविना खातुनलाई पैसा ल्याएर आउन भने । पैसा गौरीफन्टाको जंगलमा छोड्न आदेश दिए । र मियालाई पनि त्यही ठाऊमा छोड्ने बताए ।

तर त्यतिबेला उनी एसटीएफको नियन्त्रणमा रहेको हल्ला भईसकेको थियो ।

र अन्तिममा चार लाख रुपैया माग गरेका एसटिएफएले त्यो रकम टीकापुरबाट उनलाई तिकुनिया ल्याउने व्यक्तिलाई चार लाख रुपैया दिन भनेका थिए ।

तर उनलाई धम्क्याएर गैरकानुनी रुपमा नियन्त्रणमा राखेको हल्ला चलेपछि एक जना भारतीय प्रहरी मार्फत एसटिएफएको टोलीले १० गते शनिवार साँझ गौरफिन्टामा छोडेको थियो ।

मिया आफ्नो नियन्त्रणमा रहेको र उनलाई मुक्त गर्न रकम ल्याएर आउन भनेर जुन मोवाईल एसटीएफले प्रयोग गरेको थियो ।

त्यो नम्बर बनगाउँमा रहेको बालाजी मेडिकलका संचालक निरज गुप्ताको रहेको पाईएको छ ।

उनको अपहरणमा संलग्न एसटिएफएको टोली गुपचुप भागेको छ । उनलाई नियन्त्रणमा राखिएको बनगाउस्थित भारतीय प्रहरीले पनि यस घट्नामा मौनता साँधेको छ ।

मियालाई मुक्त गरेपनि उनको हातमा रहेको राडोको घडी, एक तोला सुनको औठी र १२ हजार नेपाली रुपैयाँ अपरहणकारीहरुले लगेका छन् ।
(प्रहरी, पीडित र पीडितलाई मुक्त गर्न सक्रिय व्यक्तिहरुसंगको कुराकानीमा तयार गरिएको)

प्रतिक्रिया दिनुहोस्