१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कपिलवस्तुमा हत्यापछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार (६ तस्वीर)


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, मंसिर ८ । कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै शनिबार भएको प्रदर्शन उग्र बनेको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट एकजना घाइते भएका छन् ।

आक्रोशित समूहले घटनामा संलग्न भएको आरोप लगाउँदै स्थानीय अजित पाण्डेको ट्याक्टर र कम्बाइन मसिनमा आगजनी गरेका छन् ।

गत निर्वाचनमा गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका चौधरीमाथि शुक्रबार राति शुद्धोधन गाउँपालिका–४, मोतीभारीस्थित घरनजिकैको सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पुर्‍याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

प्रारम्भिक रिपोर्टअनुसार चौधरीमाथि ६ राउन्ड गोली प्रहार भएको छ । टाउकामामात्रै ५ गोली प्रहार भएको देखिएको छ ।

चौधरीको शव अहिले मेडिकल कलेज भैरहवाबाट कपिलवस्तु ल्याइएको छ ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भने स्थानीय ‘अजित’ भनेर चिनिने बन्टी पाण्डेले विवादपछि दीपेन्द्रमाथि गोली प्रहार गरेको आरोप लगाएका छन् ।