अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग • Image Khabar Image Khabar


अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग


Imagekhabar
१४ चैत्र २०७४, बुधबार १९:४६

अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग

बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए ।

परीक्षामा कुल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् ।

शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौं संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कुल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।

परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानुनले गरेको व्यवस्थानुसार आयोग परीक्षाको तयारीमा जुटेको अध्यक्ष गौतमले बताए ।

परीक्षाका लागि झापामा २६, काठमाडौंमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कन्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ ।

शिक्षक आन्दोलनतर्फ संकेत गर्दै उनले भने–‘परीक्षा नै नदिइ ६० वर्ष कटाउन चाहने, परीक्षामा उत्तीर्ण हुन सक्दिन भन्ठान्ने र २०७२ पछि नियुक्ति पाएकाहरुले गरेको आन्दोलनले परीक्षा रोकिँदैन ।’

आयोगका सचिव एवं प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले परीक्षा सन्चालनका लागि प्रजिअको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको बताए ।

उनकाअनुसार हरेक केन्द्रमा एक/एक गरी ११६ केन्द्राध्यक्ष, २३२ सहायक केन्द्राध्यक्ष र एक हजार २८३ निरीक्षक परीक्षामा खटिनेछन् ।

उनले दरखास्त कम परेर बचत हुने, ७५ प्रतिशत विज्ञापन गरेर बाँकी रहेको पद, २.५ प्रतिशतका दरले हरेक वर्ष रिक्त रहँदै आएको दरबन्दी संख्या, अस्थायी शिक्षकको परीक्षामा उत्तीर्ण हुन नसकी रिक्त रहन आएको पदसंख्या गरी करिब ११ हजारभन्दा बढी पदमा खुला परीक्षामार्फत् पदपूर्ति गर्नसकिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्