
नेपाली पत्रकारिता क्षेत्र अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेको छ । मूलतः पेशागत सुरक्षा र समयमा तलब नपाउने जस्ता कारणले गुणस्तरमा प्रश्न चिह्न उठ्ने गरेको छ ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पारिश्रमिक र गुणस्तर बृद्धिको विषयलाई प्रमुख प्राथमिकताका दिइएको बताएका छन् ।
पेशागत सुरक्षा र आमसञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको मूख्य चुनौती रहेको उनको भनाइ छ ।
महासंघका अध्यक्ष आचार्यले महासंघको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको औंल्याएका छन् ।
‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो,’ सन्देशमा उनले भनेका छन्, ‘राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु ।’
पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको जिकिर गर्दै सन्देशमा उनले भनेका छन्, ‘दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउँदछु ।’
यसैबीच महासंघले आज पूर्व अध्यक्षहरुलाई सम्मान तथा चियापान कार्यक्रम गर्दैछ । १३ हजारभन्दा बढी पत्रकारले महासंघको सदस्यता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्