
नयाँदिल्लीबाट काठमाडौं आएको ना४ख ४५१६ नम्बरको पर्यटक बसबाट ११ किलो रक्तचन्दनसहित प्रहरीले बुधबार बिहान कलंकीबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा कालिमाटी प्रहरीले बिहान ३ बजे बसमा चेकजाँच गर्दा गाडीमा फल्सबटम बनाइ लुकाइराखेको अवस्थामा माला बनाउनका लागि तयार गरिएको रक्तचन्दनका १३ सय २ दाना फेलापरेको जनाइएको छ ।
यस्तै, सोही बसबाट भन्सार छलेर ल्याइएका विभिन्न लत्ताकपडा पनि बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रहरीले बसका चालक काभ्रे घर भइ नैकाप बस्दै आएका ४१ वर्षीय फिल्केमान रुम्बा र बुटवल घर भइ नैकाप बस्दै आएका २५ वर्षीय सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको रक्तचन्दनलाई जिल्ला वन कार्यालय र बरामद लत्ताकपडालाई राजश्व अनुसन्धान विभाग पठाइने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्