३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सिंहदरवार भत्काउन फेरि सुरु भयो चलखेल


0
Shares

भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ । यसले भत्काउने पक्षमा फेरि चलखेल बढेको खुलेको हो ।

सिंहदरबारको बनोट र निर्माण विधिअनुसार भत्काउनु नपर्ने भन्दै पुरातत्वविदको सुझावमा प्राधिकरणले तीन महिनाअघि रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो । रेट्रोफिटिङपछि प्रयोग हुनै नसके पनि ऐतिहासिक महत्वको भएकाले जस्तो हालतमा छ, जोगाउनुपर्ने पुरातत्त्वविदको सुझाव छ ।

करिब एक वर्षअघि पनि सिंहदरबार भत्काउने कि नभत्काउने विषयमा मतभेद भएको थियो । प्राधिकरणले रेट्रोफिटिङ गरेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि प्राधिकरणका सदस्य हरेराम पराजुली संयोजकत्वमा पुरातत्वविद्हरूसमेत सम्मिलित कार्यदल बनाएको थियो ।

प्राधिकरण स्रोतका अनुसार रेट्रोफिटिङका लागि केही प्रस्तावसमेत परिसकेको थियो ।

अर्को सूचना नआएसम्म उक्त प्रस्ताव स्थगन भएको सूचना दुई दिनअघि प्राधिकरणले जारी गरेको थियो । ‘यो सूचनाअनुसार अब पुनः भत्काउने चलखेल भएको बुझ्न सकिन्छ,’ प्राधिकरणकै एक अधिकारीले भने । भत्काउने र पुनः अर्को भवन बनाउने नाममा आर्थिक लाभ लिन माफियाहरू सक्रिय भएको रेट्रोफिटिङ कार्यान्वयन कार्यदलका सदस्य तथा पुरातत्वविद् रवीन्द्र पुरीले आशंका गरे । सरकार सञ्चालनमा बस्नेहरुले उनीहरुकै लबिइङअनुसारको निर्णय गर्न खोज्दा दुःख लागेको उनले सुनाए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले १४ महिनादेखि सिंहदरबारबारे अध्ययन भइरहेको बताए । ‘रेट्रोफिटिङ गरेर प्रयोग गर्न नसकिए भत्काए हुन्छ भनेर प्रधानमन्त्रीज्यूले बैठकमा कुरा उठाउनुभएको थियो,’ भुसालले भने, ‘यसै विषयमा थप अध्ययन गर्न कुनै सूचना जारी भएको हुन सक्छ । सम्बन्धित समितिले यसबारे काम गरिरहेको छ ।’ –कान्तिपुर दैनिकबाट