व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्दै छोरीबुहारी • Image Khabar Image Khabar


व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्दै छोरीबुहारी


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार ११:५६

व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्दै छोरीबुहारी

डीबी विष्ट/
बझाङ, वैशाख १४ । चुलोचौको र मेलापातमा अघिल्लो पुस्ताका महिलाहरुले जीवन गुजारे पनि हालका छोरीबुहारी भने गाउँ घरमै स्वरोजगार हुनका लागि व्यावसायिक सीप रोज्ने गरेका छन् ।

गाउँघरकै विद्यालयमा उच्च शिक्षासम्म अध्यान गरेका तर रोजगारीका लागि लोकसेवा लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा प्रतिश्पर्धा गर्न नसक्ने छोरीबुहारीहरुको आत्मनिर्भरका लागि पहिलो रोजाई व्यावसायिक सीप बन्ने गरेको छ ।

गाउँघरमा सरकारी तथा गैरसरकारी निकायहरुले दिने विभिन्न आय आर्जन र व्यावसायिक सीप विकासका तालिमहरुमा पुरुषभन्दा महिलाको सहभागिता बढ्दै गएको छ ।

पुरुषहरु रोजगारीका लागि भारत लगायत अन्य विदेशी मुलुकहरुमा जाने र गाउँका महिलाहरु व्यावसायिक रुपमा विभिन्न पेशा अँगाल्न थालेको हुँदा अहिले गाउँगाउँमा महिलाहरु आत्मनिर्भर हुँदैछन् । उनीहरु व्यावसायिक तरकारी खेती, सीलाई बुनाई, होजियारी उद्योगजस्ता पेशा व्यवसायमा लागेर आत्मनिर्भर बन्दै गएका छन् ।

थलारा गाउँपालिका खोलीमा संचालन गरेको सयपत्री हाते होजियारी उद्योगकी संचालिका कलावती अवस्थीले आफु प्रशिक्षक भएर आफूजस्तै अन्य छोरीबुहारीहरुलाई सुईटर, गलैंचा, बुन्ने सीप सिकाएर आत्मनिर्भर बनाएकी छन् ।

साना तथा घरेलु उद्योग विकासबाट तालिम पाएकी उनले थोरै अनुदानमा होजियारी मेसिनपाएपछि आफैंले उद्योग स्थापना गरी प्रशिक्षण केन्द्र खोलेर थलारा गाउँपालिकाका २५/३० जना महिलालाई व्यावसायिक सीप सिकाउने उदारहरणीय महिला बनेकी छन् ।

आफ्नो उद्योगबाट सीप सिकेर अन्य १० जना महिलाहरुले गाउँमा नै सिलाई कटाई गर्ने, कपडा बुन्ने, सुईटर तथा गलबन्दी बुनेर आफ्नो घर खर्च चलाएको उनले बताइन्् । उनले भनिन्, ‘हामीजस्ता गृहिणी महिलाहरुका लागि यस्ता सीप विकास तालिमले आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।’

उनको होजियारी उद्योगमा तालिम सिक्ने स्थानीय शारदा भट्टराईले गाउँका प्रायः छोरी बुहारीहरुले माद्यमिक शिक्षाका साथै गाउँमै क्याम्पस तहमा पनि अध्ययन गरेको उल्लेख गर्दै आत्मनिर्भर हुन केही न केही सीप सिक्न जरुरी रहेको बताईन् ।

चैनपुरकी सीता खड्काले पनि आफ्नै लगानीमा महिलाहरुलाई सीप सीकाएर आत्मनिर्भर बनाउने गरेकी छन् । सिलाई सेन्टर खोलेर उनले बझाङका ६ सयभन्दा बढी महिलाहरुलाई सिलाई कटाई तालिम दिएर आत्मनिर्भर बनाएकी छन् ।

महिलाहरुमा कुनै सीप, दक्षता नभएकाले पुरुषहरुले हेला गर्ने र परम्परागत गुजरामुखी खेतीपातीले जीवनभरी काम गर्नुपर्ने तर खान लगाउन नपुग्ने भएपछि अहिलेका महिलाहरु व्यावसायिक र सीप मुलक तालिम लिएर स्वरोजगार हुन उत्साहित हुने गरेका छन् ।

‘गाउँमा अहिले पुरुषभन्दा महिलाहरुमा निकै उर्जा र उत्साह देखिन्छ,’ घरेलु विकासकी उद्योग विकास अधिकृत सन्तोषी नेपालीले भनिन्, ‘पछिल्लो समय जिल्ला घरेलु तथा साना उद्योगले पनि महिला उद्यमी हुने कार्यक्रम तथा योजना बनाएको हुँदा अहिले गाउँका थुपै्र महिला आफ्नो खुट्टामा उभिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्