चालु आर्थिक वर्षको ९ महिना बित्दा पनि रकम निकासा नहुँदा स्रोत कक्षा बन्द हुने अवस्थामा (भिडियो) • Image Khabar Image Khabar


चालु आर्थिक वर्षको ९ महिना बित्दा पनि रकम निकासा नहुँदा स्रोत कक्षा बन्द हुने अवस्थामा (भिडियो)


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०९:२६

चालु आर्थिक वर्षको ९ महिना बित्दा पनि रकम निकासा नहुँदा स्रोत कक्षा बन्द हुने अवस्थामा (भिडियो)

कविराज घिमिरे/
धनकुटा, वैशाख १७ । फरक क्षमता भएका विद्यार्थी अध्ययनरत धनकुटाका स्रोत कक्षा बन्द हुने अवस्थामा पुगेका छन् ।

फरक क्षमता भएका बालबालिकालाई अध्ययन अध्यापन गराउने उदेश्यले सञ्चालित स्रोत कक्षा सञ्चालनका लागि आवश्यक पर्ने रकम धनकुटामा निकासा हुन सकेको छैन । तत्कालिन जिल्ला शिक्षा कार्यालय तथा सम्बधित विभागको बेवास्ताका कारण चालु आर्थिक बर्षको नौ महिना बित्दासमेत स्रोत कक्षा सञ्चालनको लागि आवश्यक पर्ने रकम निकासा हुन नसकेको हो ।

अघिल्ला बर्षहरुमा चार चार महिनामा रकम निकासा हुने गरेको थियो । यो पटक भने तत्कालिन जिल्ला शिक्षा कार्यालयले पेस गरेको खर्चको शीर्षक र निकासा हुने रकमको शीर्षक नमिल्दा रकम निकासा हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले जनाएको छ ।

शीर्षक नमिलेका कारण रकम पर्याप्त भएपनि निकासा गर्न नसकेको कार्यालयले जनाएको हो । रकमान्तरको लागि कात्तिक महिनामै निवेदन दिएर पटक–पटक आग्रह गरे पनि शिक्षा विभागले चासो नदिएका कारण रकमान्तर हुन नसकेको धनकुटाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

धनकुटामा बहिरा तथा सुस्त श्रवण तीन, सुस्त मनस्थिति चार र दृष्टिविहीन दुई गरी कुल नौ स्रोत कक्षा सञ्चालनमा छन् । जसमा एक सय फरक क्षमता भएका विद्यार्थी अध्ययनरत छन् ।

सरकारले प्रतिविद्यार्थी प्रति महिना चार हजारको दरले दश महिनाको चालिस हजार रुपैयाँ र अन्य व्यवस्थापनको लागि प्रति एक लाख ६० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो रकमले विद्यार्थीको लागि खाजा, खाना, कपडा, पुस्तकसहित विद्युत, खानेपानी, विद्यालय सञ्चालन लगायत सम्पुर्ण खर्च गरिएको थियो । तर यो बर्ष हालसम्म रकम निकासा नहँुदा स्रोत कक्षा सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

आफ्नो तलव, ब्यक्तिगत सम्पति तथा पसलबाट उधारोमा सामान किनेर कक्षा सञ्चालन गर्दै आएको सम्बन्धित विद्यालयका शिक्षकले जनाएका छन् । अब पनि रकम निकासा नभए विद्यालय बन्द गर्नुको विकल्प नरहेको मार्गेश्वरी प्राविका प्रधानाध्यापक तथा सुस्त श्रवण कक्षाका स्रोत शिक्षक श्रबणलाल राइले बताए ।

रकम निकासा नहुँदा स्रोत कक्षा सञ्चालनमा धेरै समस्या उत्पन्न भएको छ । रकम अभावकै कारण स्रोत कक्षा नै बन्द गर्नुपर्ने अवस्था आएको सम्बन्धित विद्यालयका शिक्षकले जनाएका छन् । तर पनि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा विभागले रकमान्तरका लागि चासो दिएको पाइदैंन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्