
ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेवल पुल जोखिममा परेको छ ।
निर्माणाधीन काबेली बी जलविद्युत् आयोजनाले पुलको वेवास्ता गर्दै पूर्वाधार निर्माण गरेकाले ताप्लेजुङको सिरिजंघा र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने मोटरेवल पुल जोखिममा परेको हो ।
जलविद्युत् आयोजनाले पुल आसपासमै पूर्वाधार निर्माणको काम गरेकाले पुलको दुवैतर्फको भाग जीर्ण बनेको हो ।
यस्तै पाँचथरतर्फको भागमा पनि पुलसँगै जोडेर पेनस्टोक पाईप लाईन विस्तार गरिएकाले पुलको अवस्था थप जीर्ण बनेको हो ।
पाँच वर्ष अघि ९ करोड रुपैयाँको लागतमा निर्माण गरिएको पुलको नियमन गर्ने निकाय ईलाम सडक डिभिजन कार्यालय भने मौन बसेको छ ।
कार्यालयको बेवास्ताकै कारण पुल माथिको भागमा माटोले भरिएर पानी समेत पस्न थालेपछि हिलाम्मे बनेको छ ।
यो पुल भत्किए ताप्लेजुङ र पाँचथरका धेरै गाउँपालिकाका बासिन्दा प्रभावित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्