अभियुक्तलाई छुटाउन स्थानीयबासीले गरे प्रहरीचौकीमा आक्रमण, चार सुरक्षाकर्मी घाइते • Image Khabar Image Khabar


अभियुक्तलाई छुटाउन स्थानीयबासीले गरे प्रहरीचौकीमा आक्रमण, चार सुरक्षाकर्मी घाइते


Imagekhabar
२४ बैशाख २०७५, सोमबार १२:२१

अभियुक्तलाई छुटाउन स्थानीयबासीले गरे प्रहरीचौकीमा आक्रमण, चार सुरक्षाकर्मी घाइते

पर्सा, बैशाख २४ । पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरीचौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।

अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरीचौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।

घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा प्रहरी सहायक निरीक्षकहरु गोपाल खड्का, सुकेश्वर महतो र शम्भु महतो तथा प्रहरी जवान जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरीचौकीमा आक्रमण गरेको लिम्बूले बताए ।

स्थानीयवासीले प्रहरीचौकीमा रहेका दुईथान मोटरसाइकलमा आगजनी गरेका छन् ।

उनीहरुले प्रहरीको वाहनमासमेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र केही राउण्ड हवाईफायर गरेको थियो । आक्रमणमा प्रहरीचौकीमा क्षति पुगेको छ ।

मादकपदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारततर्फ गइरहेका चारजना भारतीयलाई आइतबार बेलुका प्रहरीचौकी महादेवपट्टिका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नै हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरीचौकी सेढवामा राखिएको थियो ।

यस्तै, चोरीको अभियोगमा सुवर्णपुरबाट पक्राउ गरिएका दुईजना अभियुक्तलाई समेत सोही चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

चौकीमा रहेका छजना अभियुक्तलाई छुटाउन ढुङ्गामुडा तथा आगजनी गरिएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्