
-बिराज रोस्यारा/ईमेज
कैलाली, असार १२ । कैलालीको चुरे गाउपालिकामा एक युवतीले प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कमल बिष्टका अनुसार कञ्चनपुरको पुर्नवास नगरपालीका २ का २३ बर्षिय तेजबहादुर बिष्ट ससुराली गएको बेला उनको हत्या गरिएको हो ।
बिष्ट अषार ८ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानी गएका बेला बेपत्ता भएका थिए ।
बिष्टका परिवारले ससुराली गएका बेला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय कार्यालय कैलालीमा दिएपछि खोजी कार्य थालेको थियो ।
प्रहरी कार्यालयका कैलालीका प्रहरी निरिक्षक कमल बिष्टका अनुसार लक्ष्मी बिष्ट बडैलाले प्रेमी दिपक खत्रीसंग मिलेर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन् ।
यद्यपी घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका ११ ओलानी माईती भएकी लक्ष्मी बिष्ट बडैला र प्रेमी बताउने सोही नगरपालिका १२ का दिपक खत्री रहेका छन् ।
त्यसैगरी प्रहरीले गोदावरी नगरपालिका ११ का केशव मलासी, सोही ठाउँका सन्तोष बडैला, गोदावरी नगरपालिका १० का प्रेमबहादुर बिक र राम बहादुर बिकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार तेजबहादुर बिष्टलाई मारेर कैलालीको चुरे गाउँपालिकामा पर्ने भासु भिरमा खसालीदिएको पक्राउ परेकाहरुले स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले अहिले प्रहरी शव खसालेको भिरमा रहेको बताए ।
उनले शव अप्ठेरो ठाउँ भएकाले निकाल्न नसकिएको बताए । हत्या गरिएका बिष्ट र लक्ष्मी बिच ५ महिना पहिले मात्रै बिहे भएको थियो ।
प्रतिक्रिया दिनुहोस्