२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


साढे दुई करोड नक्कली नोटसहित फिल्म निर्माता वाग्लेसमेत ६ जना पक्राउ (भिडियो)


0
Shares

पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन् ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली नोट सार्वजनिक गरेको छ ।

उनीहरुले विभिन्न स्थानमा राखेको दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

गोंगबु, लुभु र बागबजारबाट यी नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

भक्तपुरको नवज्योति प्रिन्टिङ प्रेसका सन्चालक प्रकाश सुवेदीले बागबजारको जय भोलेबाबा प्रिन्टिङ प्रेसका सन्चालक विवेक नापितलाई नोट छाप्न दिएको र जय भोलेबाबा प्रेसमा नोट छापिएको थाहा भएको पनि प्रहरीले जनाएको छ ।

नोट बनाउन प्रयोग गरिएका चारओटा ‘प्लेट’ पनि फेलापरेको प्रहरीले जनाएको छ ।

यस्ता नक्कली नोटहरु होटल रेस्टुराँमा बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवातास खेल्ने, लागुऔषध कारोबारमा लगाउने र सक्कलीमा मिसाएर बजारमा पुर्‍याउने गरिएको पनि प्रहरीको भनाइ छ ।

चलचित्र निर्माता वाग्लेले भने फिल्म सुटिङका लागि नक्कली नोट बनाएको दावी गरेका छन् । वाग्ले चलचित्र ‘लुट’, ‘छड्के’, ‘रेशम फिलिली’लगायतका निर्माता हुन् ।

भिडियो हेर्नुहोस्