
चितवन, जेठ ९ । वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चापदार्थ नष्ट गरेको छ ।
गोप्य सूचनाको आधारमा भरतपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको मदिरा आज (बुधबार) नष्ट गरिएको हो ।
भरतपुर महानगरपालिको बाह्रघरे, आँपटारी, बसपार्क र भोजाड क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिइएको मदिरा र कच्चापदार्थ नष्ट गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक केशवकुमार शाहले जानकारी दिए ।
मदिरासंगै उत्पादन गर्न चाहिने १२ थान उपकरण, २ सय २० थान ड्रम प्रहरीले बरामद गरेको शाहले बताए ।
अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।
उनले थ्रि एस अप्रेसन अन्तर्गत समाजमा हुने गुण्डागर्दी, महिला हिंसा, लागु पदार्थ ओसारपसार तथा सेवन, ट्राफिक व्यवस्थापनका कामलाई चितवन प्रहरीले प्राथमिकतामा राखेको बताए ।
प्रहरी उपरीक्षक राठौरले समाजमा अधिकांश घटना मादकपदार्थ सेवनबाट हुने भएकाले घरेलु मदिरा बरामद गरेर नष्ट गरेको उनको भनाई छ ।
मदिरा उत्पादन गरिरहेका नागरिकलाई आगामी दिनमा मदिरा उत्पादन नगर्न निर्देशन दिंदै वैकल्पिक पेशा अवलम्बन गर्न आग्रह गरिएको राठौरले बताए ।
प्रतिक्रिया दिनुहोस्