२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भ्रष्टाचार, ढिलासुस्ती र लापरबाही गर्ने कसैलाई पनि छाड्दिनँ : गृहमन्त्री


0
Shares

प्रदेश नम्बर–७ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि संविधान र राज्यविरोधी भएको बताए ।

उनले चन्द नेतृत्वको पार्टी संवादका माध्यमबाट शान्ति–प्रक्रियामा नआए सरकार कानुनी बाटोमा जाने चेतावनीसमेत दिए ।

निर्माणकार्यमा लापरबाही गर्ने ठेकेदारहरुमाथिको कारबाही तीव्र पारिएको भन्दै उनले भ्रष्टाचार, ढिलासुस्ती र लापरबाही गर्ने कसैलाई पनि नछाड्ने बताए ।

गृहमन्त्री थापाले तस्करहरुलाई संरक्षण गर्ने प्रहरीको नाम दिन आग्रह पनि गरे । उनले तस्करहरुलाई संरक्षण गर्ने प्रहरीको नाम आउनासाथ ‘अन द स्पट’ कारबाही गर्ने बताए ।

भरियाहरु पक्राउ पर्ने तर मालिकहरु नभेटिने ‘हिजोको कथा’ भएको भन्दै उनले अब त्यो सम्भव नभएको उल्लेख गरे ।

गृहमन्त्री थापाले ‘अब मालिकहरुलाई नै कानुनको कठघरामा उभ्याइने’ बताए । यसको थालनी सुन तस्करीकान्डबाट भइसकेको उनको भनाइ थियो ।

कुनैपनि खालको ‘सिन्डिकेट’ स्वीकार्य नभएको भन्दै उनले यातायातको सिन्डिकेट हटाएर सुरु गरेको अभियान सबैखाले सिन्डिकेट नतोडेसम्म नरोकिने स्पस्ट पारे ।

संघीय गणतन्त्रको स्थापना, राजतन्त्रको अन्त्य र दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकतालाई ‘ऐतिहासिक परिघटना’को संज्ञा दिँदै नेकपाका नेतासमेत रहेका उनले देशको समृद्धि र विकासमा पार्टी एकताले ठूलो टेवा पुग्ने जिकिर गरे ।

हरेक क्षेत्रमा भ्रष्टाचार र सिन्डिकेट रहेको बताउँदै उनले त्यो नतोडिएसम्म देशको विकास सम्भव नभएको बताए ।

सुरक्षा बैठकमा गृहमन्त्री थापासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल, गृह मन्त्रालयका सचिव, नेपाली सेनाका महारथी, ७ नम्बर प्रदेशका ९ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा नियायका प्रमुखहरुको सहभागिता रहेको छ ।