
उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीतिमात्र आएको तर कुनैपनि कार्यक्रम र समयावधि नतोकिएको बताए ।
उनले नीति तथा कार्यक्रम स्पस्ट नभएको भन्दै विकासका लागि साधन र स्रोतका विषय खुलाउनुपर्नेमा जोड दिए ।
अर्का सदस्य वृशेषचन्द्र लालले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंक गणितीय खेल भएको टिप्पणी गरे ।
उनले दम्भको भाषामा नीति तथा कार्यक्रम आएको गुनासो गर्दै संविधान संशोधनको विषय पनि नीति तथा कार्यक्रममा राखिनुपर्ने माग गरे ।
त्यस्तै, सदस्य प्रमिला कुमारीले जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाएर साधन र स्रोतको बाँडफाँट गरिनुपर्नेमा नीति तथा कार्यक्रमले जोड दिनुपर्ने सुझाव दिइन् ।
संघीयता कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुदार रहेको भन्दै उनले मधेसका जिल्लामा रहेको गरिबी र अशिक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइन् ।
तीनै सदस्यले सरकारको नीति तथा कार्यक्रमको संशोधनको माग गर्दै आ–आफ्नो धारणा राखेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्