Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कांग्रेसकाे ‘ग्रीन रन’ प्रतियोगितामा मुकेश पाल प्रथम (तस्बिरसहित)


39
Shares

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।

ललितपुरको युएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका हुन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै पालले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । विजेताहरूलाई सभापति गगनकुमार थापाले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार र नागेश्वर अहिर छैठाैं हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

प्रतियोगिताका लागि करिब १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए । महिलातर्फको प्रतिष्पर्धामा सहभागीहरूले निर्धारित धावन मार्ग छोडेर दौडिएका कारण उक्त विधाको प्रतियोगिता पुनः सञ्चालन गरिने जानकारी दिइएको छ । कार्यक्रममा सभापति थापा स्वयं प्रतियोगीका रूपमा सहभागी हुनुहुन्थ्यो भने अन्य सयौँले अप्रतियोगीका रूपमा ऐक्यवद्धता जनाएका थिए । सोही अवसरमा कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणा समेत गरेको छ ।

कोषको घोषणा गर्दै सभापति थापाले यस माध्यमबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई विशेष सहयोग पुर्‍याइने जानकारी दिनुभयो । हाल पार्टीका सदस्यहरूबाट संकलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र यसलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ । कोषको विस्तृत कार्ययोजना, सञ्चालन विधि र पार्टीका आगामी राजनीतिक अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत थप जानकारी दिइने उहाँले बताउनुभयाे ।