
नवराज छत्कुली (इमेज)
धादिङ, कात्तिक २५ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा आइतबार युपी७५एजे ५३०८ नम्बरको एलपी ग्यास बुलेट पल्टँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–५ का वडासदस्य ३५ वर्षीया गीता नेपाली र उनकी १८ वर्षीया छोरी सुनिता छन् । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारकाक्रममा मृत्यु भएको हो ।
गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बिकले जानकारी दिए ।
ग्यास बुलेट अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल पल्टँदा उनीहरुलाई किचेको थियो । शाखा सडकमा हिँडिरहेका उनीहरुलाई ग्यास बुलेट पल्टिएर किचेको हो ।
ग्यास बुलेट भारतको बरौलीदेखि काठमाडौंको बालाजुस्थित नेपाल ग्यासको डिपोमा जाँदै थियो ।
ग्यास बुलेटका चालक भारतका २६ वर्षीय भोलाकुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
ग्यास बुलेट पल्टिएको ठाउँमा आगोलागी हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली तथा नीलकन्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, एसपी डम्बर बिकसमेत पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्