
काठमाडौं, जेठ १३ । चितवनस्थित सैनिक महाविद्यालयका केही विद्यार्थीले आफ्नै साथीमाथि कुटपिट गरेको घटनाको नेपाली सेनाले छानविन अघि बढाएको छ ।
तर, पीडित पक्षले भने मरणासन्न हुने गरी कुटपिट भएको घटनामा अभिभावकलाई समेत समयमै जानकारी नदिई दबाउन खोजिएको गुनासो गरेका छन् ।
सैनिक आवासीय महाविद्यालयको आवासमा बसेर कक्षा ९ मा अध्ययन गरिरहेका १४ वर्षीय बालकमाथि उनीसँगै अध्ययनरत तीनजना साथीले मरणासन्न हुने गरी कुटपिट गरेको घटनामा विद्यालयले समयमै अभिभावकलाई जानकारी नदिंदा पीडित बालकको अवस्था गम्भीर बनेको छ । घटना हुनबाट रोक्नु त कता हो कता, घटना भइसकेको जानकारी अन्यत्रैबाट पाएर विद्यालयमा पुग्दासमेत यथार्थ नबताएको गुनासो पीडितका अभिभावकहरुले गरेका छन् ।
वैशाख २९ गते विहान ३ बजे शौचालय जान भनी उठाएर लगी कुटपिट गरिएको पीडित बालकले बताएका छन् । कुटपिटबाट बालकको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । त्यसैगरी घाँटीमा डाम बसेको छ भने दुवै आँखामा रगतसमेत जमेको छ ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । पीडितकी आमा सिर्जना पौडेलका अनुसार बालकको नाक र मुखबाट समयसमयमा रगत बग्ने समस्या भइरहेको छ ।
घाइते बालकलाई हवाला दिँदै उनका अभिभावकले बताएअनुसार कुनै रिसइवी वा झैझगडाका कारणभन्दा पनि बालकमाथि घटना गराएमा केही दिन विद्यालय बिदा हुने र पढ्न नपर्ने भन्दै अरु साथीको उक्सासहटमा त्यसो गरिएको पाइएको छ । यसले बालमनोविज्ञान र बाल बिझ्याइँको आश्चर्यलाग्दो पाटो समेत उदाङ्ग गरेको छ ।
बालबालिकाबाटै यस्तो घटना हुने सम्भावना र त्यसको पछाडिको कारण के हुनसक्छ त ? बालमनोविज्ञ नरेन्द्र ठगुन्नाले कुनै पनि बालबालिकाले सानो गल्ती गर्दा अभिभावक वा शिक्षकले गल्ती सुधार गर्नुको सट्टा बालबिठ्याइँ भन्दै आँखा चिम्लिदिँदा बालबालिकामा मनोबल बढ्ने र भविष्यमा ठूला घटना हुनसक्ने बताए ।
जिल्ला प्रहरीले पनि उक्त घटना र आशयको पुष्टी गरेको छ । घटनाको प्रकृति हेर्दा गम्भीर प्रकृतिको भए पनि त्यसमा संलग्न व्यक्तिहरु नाबालक भएकोले उनीहरुलाई सुधार गृहमा पठाई थप छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।
विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेसँग घटनाबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् भने विद्यालयमा संलग्न मेजर प्रकाश अधिकारीले घटनाबारेमा आफूले बोल्न नमिल्ने बताए ।
यता, नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने घटनाको पुष्टी गर्दै त्यसका कारण र कमजोरीको बारेमा गम्भीर अनुसन्धान भइरहेको बताए ।
कक्षा ६ देखि अध्ययन हुने यस विद्यालयको छात्रबासमा भएको यस्तो घटनाले विद्यालयको व्यवस्थापन, बालबालिकाको सुरक्षा तथा बालमनोविज्ञान र शिक्षण विधिमासमेत गम्भीर पुनरावलोकनको खाँचो देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्