२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आईपीएलमा सट्टेबाजी गरेको आरोपमा अञ्जन केसीसहित ६ जना पक्राउ


0
Shares

काठमाडौं, जेठ १५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई आज पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले उनीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ गरेको बताए ।

पक्राउ परेकाहरूका साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ । उनीहरूमाथि जुवा ऐन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।

म्याच फिक्सिङको आरोपमा उनीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटे पनि मुद्दा टुंगिएको छैन ।