२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कैलालीमा गोली हानेर ९ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ


0
Shares

काठमाडौं, जेठ २१ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धार्थ बैंकबाट प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा प्रहरीले राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–९ का २३ वर्षीय कालु राना र धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय रामप्रवेश राना छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको गोंगबुबाट सोमबार राति १ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये कालु राना यसअघि जबर्जस्ती करणी मुद्दामा २०६८ सालमा कञ्चनपुरमा पक्राउ परी ६ वर्ष कैद भुक्तान गरी गत माघमा रिहा भएको जनाइएको छ ।

यही जेठ १३ गते बिहान १० बजेको समयमा उनीहरुले साइकलमा सवार निर्मल कार्कीलाई रोकेर गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।