‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या • Image Khabar Image Khabar


‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १७:३७

‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या

आइतबार राति खाना खाएर आफ्नो कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८, अन्चलपुर का २२ वर्षीय सतिश सहानीको सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले मृतक सहानीको हातखुट्टा प्लास्टिकको डोरीले र मुख प्लास्टिकले बाँधी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेलापारेको बताए ।

घरको माथिल्लो तलामा मृतक सहानी एक्लै र भुइँतलामा उनका दाजुको परिवार बस्ने गरेको प्रहरीले जनाएको छ ।

मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको (तारले बन्द गरिएको) कारण ढोका नखोलिएको र अपराधी सहजै खोल्न मिल्ने कोठाको झ्यालबाट कोठामा पसी हत्या गरेर झ्यालबाटै भागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको एसपी ज्ञवालीले बताए ।

मृतकका बुवा विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्