२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेस महासमिति बैठक किन सारियो ? संस्थापनइतरका नेता असन्तुष्ट (भिडियो)


0
Shares

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज)

काठमाडौं, कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ ।

आगामी मंसिर ५ देखि ९ गतेसम्म तय गरिएको बैठक सरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमितिको बैठकले महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

महासमिति बैठक सार्ने निर्णयप्रति संस्थापनबाहेकका पक्षले भने असन्तुष्टि जनाएका छन् ।

महासमिति बैठकमा प्रस्तुत् गर्नुपर्ने पार्टीको संशोधित विधान निर्माण गर्न नसकेपछि महासमिति बैठक दोस्रोपटक पनि सारिएको हो ।

कांग्रेसको मौजुदा विधानमा वर्षको एकपटक महासमिति बैठक बोलाउने उल्लेख छ । तर, वर्तमान कार्यसमिति निर्वाचित भएपछि एकपटक पनि महासमिति बैठक बस्न सकेको छैन ।

लामो समय छलफल भएपनि महासमितिमा प्रस्तुत् हुने पार्टीको विधानमा अझैपनि सहमति जुट्न सकेको छैन ।

मुख्यगरी सभापतिको अधिकार, सदस्यता वितरण र नवीकरण, पार्टी पदाधिकारीको संख्यालगायतका मूलभूत विषयमा पार्टीभित्र अझै सहमति जुट्न सकेको छैन ।

तर, विधान मस्यौदा समितिका सदस्य एवं केन्द्रीय सदस्य रमेश लेखकले तिहार, छठलगायतका चाडपर्वहरु संघारमा आएकाले महासमिति बैठकको मिति सारिएको जिकिर गरे ।

महासमिति बैठक सार्ने निर्णयप्रति संस्थापनइतरका नेताहरुले भने असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अब कुनैपनि हालतले नसर्ने आधार प्रस्तुत् नगरी महासमिति बैठक सार्नु उचित नभएको टिप्पणी गरे ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट आएका विजयकुमार गच्छदारलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ ।

गच्छदारको मनोनयन विधि र प्रक्रियासम्मत् नभएको भन्दै बैठकमा संस्थापनइतरका केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

यस्तै, बैठकले नेपाली कांग्रेससँग एकीकरण भइ आएको फोरम लोकतान्त्रिकको जिल्लागतरुपमा पार्टी संगठन र भातृसंगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति गठन गरेको छ ।

बैठकले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा लेखापरीक्षण समिति पनि गठन गरेको छ ।

भिडियो हेर्नुहोस्